काठमाडौं ।
नेपालको समकालीन सामाजिक तथा राजनीतिक परिवेशमा केही यस्ता व्यक्तित्वहरु देखा परेका छन्, जसले परम्परागत सोच र संरचनालाई चुनौती दिँदै नयाँ दिशाको संकेत गरेका छन्। यस्तै एक पात्र हुन् बालेन्द्र शाह, जसलाई आम रुपमा “बालेन” भनेर चिनिन्छ।
वि.सं. २०४७ वैशाख १४ गते नरदेवीमा जन्मिएका बालेन काठमाडौंमै हुर्किए। सानै देखि सिर्जनशील सोच भएका उनी एकातिर प्राविधिक शिक्षा, विशेषतः सिभिल इन्जिनियरिङ तर्फ आकर्षित भए भने अर्कोतिर समाजका विकृति र विसंगति प्रति संवेदनशील बने। यही संवेदनशीलताले उनलाई संगीत तर्फ डोर्यायो।
नेपाली हिप-हप संगीतमा बालेनले आफ्नो छुट्टै पहिचान बनाएका छन्। उनका गीतहरु मनोरञ्जनका लागि मात्र नभएर सामाजिक सन्देश र चेतनाले भरिएका छन्। भ्रष्टाचार, असमानता र युवा पुस्ताको निराशा जस्ता विषयलाई उनले आफ्ना र्याप मार्फत प्रस्तुत गरेका छन्। यसरी संगीत उनको अभिव्यक्तिको माध्यम मात्र नभई परिवर्तनको आवाज पनि बन्यो।
उनको पहिचान केवल कलाकारमा सीमित रहेन। २०७९ को स्थानीय तह निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिए। राजनीतिक दलहरुको गहिरो प्रभाव रहेको यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारको रुपमा उठ्नु आफैंमा चुनौतीपूर्ण थियो। तर, जनतामा बढ्दो निराशा र परिवर्तनको चाहनाले बालेनलाई अप्रत्याशित रुपमा विजय दिलायो। यो जित केवल एक व्यक्तिको सफलता मात्र नभई नेपाली राजनीतिमा नयाँ सम्भावनाको संकेतका रुपमा व्याख्या गर्न सकिन्छ।
मेयरको रुपमा बालेनले आफ्नो कार्यशैली मार्फत फरक छाप छोड्ने प्रयास गरे। अवैध संरचना हटाउने अभियान, सार्वजनिक स्थानहरुको संरक्षण र शहरी व्यवस्थापनमा सुधार ल्याउने पहलहरु उनले गरे। तर, उनका केही निर्णयहरु विवादित पनि बन्यो। त्यसका बावजुद राष्ट्रिय राजनीतिमा उनको चर्चा सेलाएन।
फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनले उनलाई देशकै कार्यकारी पदमा पुर्याएको छ। त्यो पनि, बहुमत मात्र नभएर करिब दुई तिहाई सरकारको उनले नेतृत्व गर्दै छन्। देशमा देखिएको बेथिति र भ्रष्टाचारलाई अन्त्य गर्ने म्यान्डेट जनताले बालेनलाई दिएका छन्। त्यो म्यान्डेट पूरा गर्ने जिम्मेवारी बालेनको काँधमा आई पुगेको छ।
परम्परागत राजनीति र नीति निर्माण तहमा देखिएको संकीर्णताले के बालेनलाई काम गर्न सहज होला? झन्डै दुई तिहाईको सरकारले संविधानमा देखिएका त्रुटिहरु सच्याउला? २०४६ सालयता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु माथि भ्रष्टाचार सम्बन्धी छानबिन होलार? अनि रास्वपाकै घोषणा पत्रमा उल्लेख भएका १०० बुँदे करार पत्र बालेनले कार्यान्वयनमा लयाउला? अब बालेनको अग्नि परीक्षा सुरु भएको छ। अन्नपूर्ण पोष्टबाट