साँफेबगर ।
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि आवश्यक ठान्दै साँफेबगर नगरपालिका वडा नं।३ शिद्देश्वर स्थित किण्डर गार्डेन एकेडेमीले विज्ञान, कला, हस्तलेखन र स्थानीय खानाका परिकार समेटिएको विशेष प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ । विद्यार्थीको सिर्जनशीलता, प्रयोगात्मक क्षमता र आत्मविश्वास विकास गर्ने उद्धेश्य सहित आयोजना गरिएको छ ।
विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले प्रयोगात्मक तरिकाले विज्ञानका नमुना सामग्री प्रस्तुत गर्दै सिकाईलाई व्यवहारमा उतारेका थिए । उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा जनप्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।
विज्ञान प्रदर्शनीमा डोजर मोडल, पानी चक्र, सौर्य प्रणाली, हाते पम्प, मानव फोक्सो कार्य प्रणाली, ज्वालामुखी विस्फोट, पानी फिल्टर, ट्राफिक लाईट स्वचालित प्रणाली जस्ता मोडलहरु प्रदर्शन गरिएको थियो । साना कक्षाका विद्यार्थीहरुले शिक्षकको सहकार्यमा विज्ञानका अवधारणालाई सरल भाषामा व्याख्या गर्दै नमुना सञ्चालन गरेर देखाएका थिए । प्रदर्शनीमा विद्यार्थीहरुको अक्षर मिलान, लेखन शैली र प्रस्तुतिले अभिभावक तथा अतिथिहरुको ध्यान आकर्षित गरेको थियो ।
यसै गरी स्थानीय खानाका परिकार प्रदर्शनीमा विद्यार्थीहरुले आफैं पकाएका उसिनिएको फर्सी, फापर सेलरोटी, पकौडा, चना लगायत २० प्रकारका स्थानीय परिकार राखिएको थियो । विद्यार्थीले तयार पारेका परिकार अवलोकन र स्वाद लिन अभिभावकको उल्लेख्य भिड लागेको थियो ।
कार्यक्रममा बोल्दै विद्यार्थीहरुले पढेका कुरा प्रयोग गरेर देखाउँदा सजिलै बुझिने र रमाईलो हुने अनुभव सुनाए । किण्डर गार्डेन एकेडेमीका विज्ञान विषयका शिक्षक लोकराज उपाध्यायले कितावमा अध्ययन गरेका विषयवस्तुलाई व्यवहारीक जिवनमा उतार्नको लागि प्रर्दशनिले मद्दत पुगेको बताउनु भयो ।
स्कुलका सञ्चालक पृथ्वी कुँवरले विद्यालयले व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो । सुर्यचन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र बहादुर शाहले विद्यालयबाट नै ठूलठूला वैज्ञानीक उत्पादन गर्न सक्ने ठाउँ भएको बताउनु भयो । विज्ञान, कला र खानालाई एउटै कार्यक्रममा समेटेर देखाईनु सकारात्मक रहेको बताउँदै यसले बालबालिकामा आत्म विश्वास र व्यवहारिक ज्ञान बढाएको बताउनु भयो ।
प्रभा धम्कोट माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आकाश कुँवरले पढेका विषयलाई जीवनमा उर्तानको लागि प्रर्दशनीले टेवा पुगेको बताउँदै अन्य सामुदायिक विद्यालयको लागि सिकाई भएको बताउनु भयो ।
कार्यक्रममा सहभागी साँफेबगर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर र १० का वडा अध्यक्ष ललित बोगटीले विद्यालयको प्रयासको प्रशंसा गर्दै यस्तो अभ्यासले गुणस्तरीय शिक्षामा टेवा पुग्ने बताए । प्रयोगात्मक शिक्षाले विद्यार्थीको बुझाई र रुचि बढाउने बताउनु भयो ।
त्यसै गरी साँफेबगर शिक्षा शाखा प्रमुख हिरादत्त भट्टले विज्ञान प्रदर्शनी र कला कार्यक्रमले विद्यार्थीको प्रस्तुतीकरण क्षमता, आत्म विश्वास र सिर्जनशीलता विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भयो । विद्यार्थीहरुले बनाएका विज्ञान प्रविधिको अवलोकन गर्दै उहाँले यस्तै खाले कार्यक्रम अन्य विद्यालयहरुमा पनि गरिनु पर्ने सुझाए।
सम्बन्धित तस्विरहरु ।



