साँफेबगर ।
नेपाली कम्युनिस्ट पार्टी अछाम जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. भीम रावलले एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो प्रतिबद्धता तथा भावी कार्य योजनाको रुपरेखा सार्वजनिक गर्नु भएको छ।
पत्रकार सम्मेलनमा उहाँले राष्ट्रियता, लोकतन्त्र, विकास र जनहितलाई प्राथमिकतामा राख्दै जनताको पक्षमा इमानदार प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। साथै, निर्वाचन क्षेत्रका मुख्य समस्या पहिचान गरी दीर्घकालीन विकासका कार्यक्रम अघि बढाउने बताउनु भयो।
उहाँको भावी प्रतिबद्धता पत्रमा देश जनताको हित र सुरक्षा, स्थायित्व सहित स्वच्छ राजनीति र संबैधानिक सुधार, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण र राष्ट्रको समृद्धि, राष्ट्रको सर्वोपरि हितमा स्वतन्त्र परराष्ट नीति, कृषि, शिक्षा, स्वास्थ्य सामाजिक सुरक्षा लगायतका क्षेत्रमा सुधार र परिवर्तन गर्ने लगायतका बुँदाहरु उल्लेख छन्।
अछाम जिल्लाको विकासका लागि सडक, पिउने पानी, सिचाई, विद्यालय र प्रशासनिक भवन, अस्पताल, बिद्धुत आयोजना, लगायतका विगतमा आरम्भ भएर पनि पूरा हुन नसकेका अधुरा आयोजना र कार्यक्रम पूरा गराउने, सेती लोकमार्गको काम सम्पन्न गराउने लगायतका थुप्रै बुँदाहरु प्रतिबद्धता पत्रमा उल्लिखित छन् ।






