साँफेबगर ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा देश भर पार्टी भित्र साङ्गठनिक गतिविधि तथा चुनावी प्रचारप्रसार तीव्र बनेको छ।
यसै क्रममा अछामको साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ। उनले अछाम-१ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो।
साँफेबगर नगरपालिका वडा नम्बर ३ (सिद्धेस्वर) निवासी कुँवरले पार्टीको आन्तरिक सुदृढीकरण, एकता र सङ्गठन विस्तारलाई मुख्य एजेन्डा बनाउँदै उम्मेदवारी प्रस्तुत गर्नु भएको हो।
प्रमुख एजेन्डा तथा राजनीतिक सङ्कल्प
राजेन्द्र बहादुर कुँवरले “राष्ट्रियता! लोकतन्त्र! समाजवाद!” भन्ने नेपाली कांग्रेसको मूल वैचारिक सिद्धान्तलाई अङ्गीकार गर्दै आफ्ना मुख्य सङ्कल्पहरु सार्वजनिक गर्नु भएको छ।
१.सङ्गठनको सुदृढीकरण: वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रसम्मका सबै निकायलाई एकताबद्ध, व्यवस्थित र चलायमान बनाउने।
२.समृद्ध नेपालको निर्माण: “एकताबद्ध कांग्रेस, समृद्ध नेपाल” को नाराका साथ पार्टी भित्रको आन्तरिक एकता कायम गरी मुलुकको समग्र विकास र समृद्धिमा योगदान पुर्याउने।
३.जनता र पार्टी बीचको सम्बन्ध: स्थानीय सरकारको नेतृत्व सम्हालि रहेको अनुभवलाई प्रयोग गर्दै जनताका समस्या, विकास निर्माणका आवश्यकता र पार्टी नीति बीच निरन्तर समन्वय स्थापना गर्ने।
स्थानीय राजनीतिमा प्रभाव
साँफेबगर नगरपालिकाको नगर प्रमुखको रुपमा स्थानीय तहको नेतृत्व सफलतापूर्वक सम्हालि सक्नु भएका कुँवरको उम्मेदवारीलाई अछाम कांग्रेसका नेता तथा कार्यकर्ताहरुले महत्त्वका साथ हेरेका छन्।
उहाँको कुशल नेतृत्व क्षमता र जनसम्पर्कका कारण महाधिवेशन प्रतिनिधिमा उहाँको बलियो दाबी रहेको स्थानीय कार्यकर्ताहरुको भनाई रहेको छ।