साँफेबगर ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै अछाम क्षेत्र नम्बर १ मा राम बहादुर कुँवरले क्षेत्रीय सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ। पार्टी संगठन, सञ्चार क्षेत्र तथा सामाजिक गतिविधिमा लामो अनुभव संगाल्नु भएका कुँवरले क्षेत्रीय नेतृत्वमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो।
उहाँ नेपाली कांग्रेस अछामको जिल्ला कार्य समिति सदस्यका रुपमा दुई पटक जिम्मेवारी निर्वाह गरि सक्नु भएको छ। त्यस्तै, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियन केन्द्रीय सदस्यका रुपमा समेत उहाँले जिम्मेवारी सम्हालि सक्नु भएको छ।
संगठन निर्माण र कार्यकर्तासँगको समन्वयलाई आफ्नो प्राथमिकतामा राख्दै कुँवरले पार्टीलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। उहाँले पारदर्शी र अनुशासित नेतृत्व विकाससँगै पार्टी भित्र सबै तहका नेता–कार्यकर्ताको सहभागिता र अपनत्व सुनिश्चित गर्ने बताउनु भएको छ।
क्षेत्रीय सभापतिको जिम्मेवारी पाएमा संगठनलाई चलायमान बनाउने, कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने तथा पार्टीको नीति, विचार र सिद्धान्तलाई जनस्तरसम्म प्रभावकारी रुपमा पुर्याउने आफ्नो लक्ष्य रहेको कुँवरको भनाई रहेको छ।
उहाँले न्याय, समानता र सामाजिक रुपान्तरणलाई केन्द्रमा राख्दै पार्टी संगठनलाई थप समावेशी र जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
कुँवरको उम्मेदवारी घोषणासँगै अछाम क्षेत्र नम्बर १ मा कांग्रेसको आगामी क्षेत्रीय नेतृत्वलाई लिएर राजनीतिक गतिविधि थप चासोपूर्ण बनेको छ।