साँफेबगर ।
अछाममा ‘विश्वव्यापी भोकमरी सूचकांक-२०२६’ प्रतिवेदन सार्वजनिक गरिएको छ। अछाम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य भरत कुमार स्वारले उक्त प्रतिवेदन सार्वजनिक गर्नु भएको हो।
विहीबार पिसविन नेपाल, समविकास नेपाल र वाक नेपालको संयुक्त आयोजनामा ‘खाद्य सुरक्षाविना सुरक्षा सम्भव छैन’ भन्ने नारा सहित साँफेबगरमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सांसद स्वारले अछामका गाउँबस्ती क्रमशः खाली हुँदै जानु र खेतीयोग्य जमिन बाँझो रहँदै जानु खाद्य सुरक्षाका लागि गम्भीर चुनौती बनेको बताउनु भयो।
विगतमा स्थानीय बासिन्दाले आफ्नै खेतबारीमा उत्पादन गरेर खाने गरे पनि अहिले गाउँमा मानिसको बसोबास घट्दै जाँदा खेतीपाती गर्ने क्रमसमेत घटेको उहाँको भनाई थियो। उहाँले आफ्नै खेतबारीमा उत्पादन गर्नु भन्दा बजारबाट किनेर खाने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै यसले स्थानीय उत्पादन र आत्म निर्भरतालाई कमजोर बनाएको बताउनु भयो।
आफ्नै जमिनको सदुपयोग गरी कृषि उत्पादन बढाउन र स्थानीय उत्पादनमा जोड दिनु पर्ने उहाँको धारणा थियो। साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले बालबालिकाको पोषण सुधार र खाद्य सुरक्षाका लागि स्थानीय सरकारले प्राथमिकताका साथ काम गर्नु पर्ने बताउनु भयो।
उहाँले साँफेबगर नगरपालिकाले पोषण सम्बन्धी समस्या समाधानका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनु भयो। नगरपालिकाले स्थानीय स्तरमा उत्पादित खाद्यवस्तुलाई विद्यालयको दिवा खाजामा प्रयोग गर्दै आएको उल्लेख गर्दै उहाँले बालबालिकाको पोषण अवस्था सुधार गर्न स्थानीय तह, स्वास्थ्य संस्था, गैर सरकारी संस्था तथा सरोकारवाला निकाय बीच समन्वय आवश्यक रहेको बताउनु भयो।
जिल्ला समन्वय समितिका उपप्रमुख दानमति शाहीले बालबालिकाको पोषण अवस्था सुधार गर्न गर्भवती तथा सुत्केरी महिलाको पोषण, बालबालिकालाई पर्याप्त तथा सन्तुलित आहार, नियमित स्वास्थ्य परीक्षण, सरसफाई र पोषण सम्बन्धी जनचेतनामा विशेष ध्यान दिनु पर्नेमा जोड दिनु भयो।
मंगलसेन नगरपालिकाका उपप्रमुख संगीता रावल सोडारीले महिला तथा बालबालिकाको पोषण अवस्था सुधारका लागि जनचेतना, स्वास्थ्य सेवा र पोषणयुक्त खानाको पहुँच विस्तार गर्नु पर्ने बताउनु भयो। बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावलले बालबालिकाको पोषण सुधारलाई परिवार र समुदाय स्तरबाटै अभियानका रुपमा अघि बढाउनु पर्ने धारणा राख्नु भयो।
त्यस्तै, मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप बहादुर खड्काले खाद्य सुरक्षा र पोषण सुधारका लागि स्थानीय तहले लक्षित कार्यक्रम सञ्चालन गर्नुका साथै तिनको प्रभावकारी कार्यान्वयन र अनुगमनमा ध्यान दिनु पर्ने बताउनु भयो। कार्यक्रममा (डब्लुएचएच) का पोषण विज्ञ विकास देउजाले सुदूरपश्चिम प्रदेशमा भोकमरी सूचकांकको अवस्था, बालबालिकाको पोषण सम्बन्धी चुनौती तथा सुधारका सम्भावना बारे जानकारी गराउनु भयो।
विश्व भोकमरी सूचकांक २०२६ को तथ्यांक अनुसार अछाममा पाँच वर्ष मुनिका बालबालिकाको पुड्कोपन दर ३०.१ प्रतिशत रहेको पोषण विज्ञ देउजाले जानकारी दिनु भयो। यो सुदूरपश्चिम प्रदेशको औसत दर २५.३ प्रतिशत भन्दा ४.८ प्रतिशत विन्दुले बढी हो। त्यस्तै, अछाममा बालबालिकाको ख्याउटेपन दर १३.५ प्रतिशत रहेको छ भने प्रदेशको औसत दर १४.९ प्रतिशत रहेको छ।
यसले अछाममा पुड्कोपनको समस्या प्रदेशको औसत भन्दा बढी भए पनि ख्याउटेपनको दर प्रदेशको औसत भन्दा कम रहेको उहाँले जानकारी गराउनु भयो। सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा बालबालिकाको ख्याउटेपनको अवस्था पनि फरक–फरक देखिएको छ।
कृषि ज्ञान केन्द्र अछामका प्रमुख जनक बोहराले प्रस्तुत गरेको प्रतिवेदन अनुसार कञ्चनपुरमा सबै भन्दा बढी १७.८ प्रतिशत बालबालिकामा ख्याउटेपन देखिएको छ। त्यस्तै, कैलालीमा १७.१ प्रतिशत, डोटीमा १४.९ प्रतिशत, डडेल्धुरामा १४.३ प्रतिशत, अछाममा १३.५ प्रतिशत र दार्चुलामा १२.९ प्रतिशत ख्याउटेपन रहेको छ।
त्यसै गरी, बाजुरामा ११.८ प्रतिशत, बैतडीमा ९.२ प्रतिशत र बझाङमा ८.५ प्रतिशत बालबालिकामा ख्याउटेपन देखिएको छ। सुदूरपश्चिमका जिल्लामा बालबालिकाको पोषण अवस्था सुधार गर्न स्थानीय कृषि उत्पादनमा वृद्धि, पोषणयुक्त खानाको उपलब्धता, मातृ तथा शिशु स्वास्थ्य सेवा र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्ने आवश्यकता देखिएको छ।