साँफेबगर ।
अछामको साँफेबगर नगरपालिकामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा आगामी योजना तर्जुमा कार्यक्रम सुरु भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भदौ १५ र १६ गते दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम साँफेबगर नगरपालिकाको सभा हलमा आयोजना गरिएको हो।
कार्यक्रममा नगरपालिका भित्र सञ्चालित स्वास्थ्य कार्यक्रम तथा स्वास्थ्य संस्थाहरुको प्रगति, उपलब्धि, समस्या र चुनौती बारे समीक्षा गरिएको छ। साथै आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवाको प्रभावकारिता बढाउने उद्धेश्यले आवश्यक योजना तथा कार्यक्रम तर्जुमा गरिनेछ।
उद्घाटन सत्रमा सहभागीहरु बीच परिचय, स्वागत मन्तव्य तथा स्वास्थ्य कार्यक्रमको उद्धेश्य बारे जानकारी गराईएको छ। कार्यक्रम तालिका अनुसार विभिन्न स्वास्थ्य संस्थाले आफ्नो प्रगति विवरण तथा प्रस्तुतीकरण गरेका छन्।
दोस्रो दिन स्वास्थ्य संस्थाहरुको प्रस्तुतीकरण, नगरपालिकाको स्वास्थ्य शाखाको प्रस्तुतीकरण तथा आगामी वर्षका लागि स्वास्थ्य क्षेत्रको योजना निर्माण र छलफल गरिनेछ। नगरपालिकाले स्वास्थ्य सेवाको वर्तमान अवस्थाको समीक्षा गर्दै आगामी दिनमा नागरिकलाई थप प्रभावकारी, गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, उपप्रमुख शिव बहादुर कुँवर सिलोज, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओली, बयालपाटा प्रादेशिक अस्पतालका कार्यकारी निर्देशक डा. मन्दीप पाठक, स्वास्थ्य कार्यलय अछामका प्रमुख सिमा थापा, विभिन्न वडाका वडा अध्यक्ष, शाखा प्रमुख, स्वास्थ्य संस्थाका प्रमुख लगायतको उपस्थिति रहेको थियो।
गोष्ठिको उद्धेश्य र स्वागत मन्तव्य साँफेबगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण नाथयोगी राख्नु भएको थियो भने सञ्चालन स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरिक्षक नरेश रावतले गर्नु भएको थियो।