साँफेबगर ।
साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटमा वडा स्तरीय बाल सञ्जाल गठन तथा पुनर्गठनसँगै बाल अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। रोशनी थापाको अध्यक्षतामा १५ सदस्यीय बाल संजाल गठन गरिएको हो।
सञ्जालको उपाध्यक्षमा सुस्मिता थापा, सचिव आदेश थापा, कोषाध्यक्ष ममता विक, सह सचिव महेन्द्र विक, सदस्य एशोदा विक लगायत अन्य सदस्यहरु रहेका छन्।
साँफेबगर नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा बालबालिकाको हक, अधिकार, कानुनी व्यवस्था, संस्थागत संरचना, बाल विवाह न्यूनीकरण तथा लागु पदार्थ दुर्व्यसन जस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
वडा अध्यक्ष सन्जु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत शंकर थापाले सहजीकरण गर्दै बाल अधिकार संरक्षणमा समुदाय र स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नु भयो।
त्यस्तै, कार्यक्रमको सञ्चालन तथा सहजीकरण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख अनिता जोशीले गर्नु भएको थियो।
कार्यक्रमले बालबालिकाको सहभागिता, नेतृत्व विकास तथा अधिकारप्रति सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिईएको छ।