साँफेबगर ।
अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडामा बाल संजाल गठन गरिएको छ। वडा कार्यलयको आयोजना तथा आस्था नेपाल र वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाल सञ्जाल गठन गरिएको हो।
निवर्तमान बाल संजालका अध्यक्ष मुक्ति परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वडा सचिव सागर भण्डारी रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले बालबालिकाको हक, हित र सहभागिता सुनिश्चित गर्ने उद्धेश्यले बाल सञ्जाल गठन गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बालबालिकाको समग्र विकासमा स्थानीय तहको महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनु भयो। उहाँले बालबालिका हाम्रो समाजको भविष्य भएको पनि बताउनु भयो। उनीहरुको हक अधिकार सुनिश्चित गर्न वडा कार्यालय प्रतिबद्ध छ।
अब देखि बालबालिकाका लागि आवश्यक बजेट विनियोजन गर्नेछौँ, उनीहरुको क्षमता विकास र संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नेछौँ। साथै साझेदार संघ, संस्थासँग समन्वय गर्दै बालमैत्री वातावरण निर्माणमा सक्रिय रुपमा काम गर्नेछौँ।
कार्यक्रमको सहजीकरण आस्था नेपालका फिल्ड कर्मचारी भ्वान सिंह सार्कीले गर्नु भएको थियो। एक दिने बाल सञ्जाल गठन, पुनर्गठन तथा अभिमुखीकरण कार्यक्रम मार्फत कमल साउँदको अध्यक्षतामा १७ सदस्यीय वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ।
कार्यक्रमले बालबालिकाको सहभागिता वृद्धि गर्दै उनीहरुको अधिकार संरक्षण र नेतृत्व विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।