साँफेबगर ।
अछाममा विद्युत सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम हुने भएको छ। नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्रले समुदायमा विद्युत सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले पाँच दिने सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको हो।
अछाम वितरण केन्द्रले सार्वजनिक गरेको सूचना अनुसार २०८३ साल भदौ २२ गते देखि २६ गतेसम्म समुदायमा विद्युत सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। विद्युतको सुरक्षित प्रयोग तथा सम्भावित दुर्घटना न्यूनीकरणका लागि विद्यालय तथा स्थानीय निकायलाई समेत कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।
कार्यक्रममा विद्युत प्रयोगका क्रममा अपनाउनु पर्ने सावधानी, घर तथा विद्यालयमा विद्युत सुरक्षाका उपाय, विद्युत दुर्घटना न्यूनीकरणका उपाय तथा प्रश्नोत्तर र अन्तरक्रिया लगायतका विषयमा जानकारी गराईने विद्युत कार्यालय अछामका हिरण्ड कुवँरले जानकारी दिनु भयो।
विशेष गरी भिजेको हातले स्विच तथा प्लग नचलाउने, च्यातिएका तार तथा ढिलो जोडिएका उपकरण प्रयोग नगर्ने, च्यातिएका तार तथा ढिलो जडान भएका उपकरण तत्काल मर्मत गर्ने, बालबालिकालाई विद्युत उपकरणबाट टाढा राख्ने र प्रयोगमा नरहेको उपकरणको प्लग निकाल्ने लगायतका सुरक्षात्मक उपाय बारे सचेत गराईने उहाँले बताउनु भयो।
अछाम वितरण केन्द्रले समुदायमा विद्युत सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न इच्छुक विद्यालय तथा स्थानीय निकायलाई कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। कार्यक्रममा सहभागी हुन वा थप जानकारी लिन अछाम वितरण केन्द्रमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले देश भरका वितरण तथा उपवितरण केन्द्र मार्फत विद्युत वितरण, ग्राहक सेवा तथा विद्युत आपूर्ति व्यवस्थापनको काम गर्दै आएको छ।
‘सचेत बनौँ, सुरक्षित रहौँ’ भन्ने सन्देश सहित सञ्चालन हुने कार्यक्रमले विद्युतको सुरक्षित प्रयोगस म्बन्धी व्यवहारिक ज्ञान समुदायसम्म पु¥याउने अपेक्षा गरिएको छ।