भारत ।
प्रहरीले चेन्नई शहरका विभिन्न स्थानमा राखिएका प्लास्टिकका बोराहरुबाट शरीरका टुक्राहरु फेला पार्न थाले पछि एउटा भयावह हत्या काण्ड बाहिरियो । तमिलनाडुको राजधानी चेन्नईमा सुरु भएको यो खोज पछि ती सबै टुक्रा एउटै महिलाको भएको खुल्यो । तर अचम्मको कुरा के थियो भने महिलाको टाउको गायब भएकाले लामो समयसम्म उनको पहिचान हुन सकेन । आज पनि यो घटनाको ७ वर्ष पछि उनको टाउकोको रहस्य समाधान भएको छैन ।
यो कथा ३७ वर्षको उमेरमा ज्यान गुमाएकी तमिल अभिनेत्री सन्ध्याको हो । उनको टाउको अझै भेटिएको छैन । प्रहरीको विशेष टोलीले पनि अहिलेसम्म टाउको फेला पार्न सकेको छैन । प्रश्न उठ्छ–उनको शवको पहिचान कसरी भयो ? यसको जवाफ शरीरमा बनेका ट्याटुहरु हुन्, जसलाई अभिनेत्रीकी आमाले पहिचान गरेकी थिइन् । पछि डीएनए परीक्षणले पनि यसको पुष्टि गर्यो ।
कसरी सुरु भयो घटना ?
चेन्नईको पल्लीकरणै डम्पयार्डबाट एउटा प्लास्टिकको बोरा भेटियो । बोरा खोले पछि त्यसमा काटिएको हात र खुट्टा भेटियो । त्यस पछि प्रहरीले शहरका विभिन्न भागबाट यस्तै धेरै बोराहरु फेला पार्यो । फरेन्सिक विशेषज्ञहरुले ती सबै अंग एउटै महिलाको भएको पत्ता लगाए । पोस्टमार्टम रिपोर्टले धारिलो हतियार प्रयोग गरी महिलाको हत्या गरेर शरीर टुक्रा पारिएको देखायो । एनडीटीभीको रिपोर्ट अनुसार, सन्ध्याको शरीरमा रहेका दुईवटा ट्याटुको आधारमा अनुसन्धान उनको पति तथा फिल्म निर्माता बालकृष्णनसम्म पुगेको थियो ।
११ हजार टन भन्दा बढी फोहोर खोजियो
घटनाको अनुसन्धान गरि रहेको प्रहरी टोलीलाई शरीरका बाँकी भाग फोहोरमा लुकाइएको हुन सक्ने आशंका भयो । त्यस पछि प्रहरीले करिब ११ हजार ७ सय टन फोहोर खोतलेर खोजी गर्यो । प्रहरीले केही थप अंगहरु भेट्टाउन सफल भयो, तर एउटा खुट्टा र टाउको भने अझै फेला परेन ।
ट्याटुले खोल्यो रहस्य
सन्ध्याको दाहिने हातमा दुईवटा ट्याटु थिए । यही ट्याटु प्रहरी अनुसन्धानको पहिलो महत्वपूर्ण प्रमाण बन्यो । त्यही समयमा एक महिला प्रहरी कार्यालय पुगेर आफ्नी छोरी हराएको उजुरी दिइन् । ती हराएकी महिला अरु कोही नभएर सन्ध्या नै थिइन्, जो चेन्नईमा पति र दुई सन्तानसँग बस्दै आएकी थिइन्।
रिपोर्ट अनुसार, सन्ध्याको आमाले प्रहरीलाई आफ्नो ज्वाइँसँग छोरी बारे पटक–पटक सोध्दा उनले सन्ध्या थुथुकुडी गएको बताउने गरेको जानकारी दिइन् । प्रहरीले परिवारलाई शरीरमा भएका चिन्हहरु पहिचान गर्न भन्यो । त्यही क्रममा उनकी आमाले ट्याटु र एउटा गहनालाई पहिचान गरिन् । पछि डीएनए परीक्षणबाट पनि शव सन्ध्याकै भएको पुष्टि भयो ।
अनुसन्धानको दिशा पति तर्फ मोडियो
पहिचान भए पछि प्रहरीले अब हत्या कसले र किन गर्यो भन्ने अनुसन्धान सुरु गर्यो । शंका उनका पति बालकृष्णन माथि केन्द्रित भयो । सोधपुछका क्रममा उनको बयानमा विरोधाभास देखिएको प्रहरीले जनाएको थियो । उनले सन्ध्या थुथुकुडी गएको बताएका थिए, तर उनी घर नपुगेको कुरा उनलाई थाहा भएको आशंका गरिएको थियो ।
रिपोर्ट अनुसार, प्रहरीले बालकृष्णनले हत्या स्वीकार गरेको दाबी गरेको थियो । अनुसन्धानकर्ताहरुका अनुसार १९ जनवरी २०१९ मा दम्पती बीच विवाद भएको थियो । त्यस क्रममा बालकृष्णनले सन्ध्या माथि कथित रुपमा अवैध सम्बन्धको आरोप लगाएका थिए । प्रहरीको भनाइ अनुसार, विवाद बढ्दै गए पछि उनले पत्नी माथि आक्रमण गरी घरमै हत्या गरेका थिए ।
शहर भरि छरिएका थिए शरीरका टुक्रा
रिपोर्ट अनुसार, अनुसन्धानका क्रममा सीसीटीभी फुटेजमा बालकृष्णन रातको समयमा दुई पांग्रे सवारीमा बोरा सहित देखिएका थिए । ती बोरामा सन्ध्याको शव हुन सक्ने प्रहरीको अनुमान थियो । यस अघि सन् २०१८ मा पनि दम्पती बीच विवाद भएको थियो । त्यस पछि सन्ध्या प्रहरी कार्यालय पुगेकी थिइन् र घरेलु हिंसाको उजुरी दिएकी थिइन् । तर पछि दुवै बीच सम्झौता भएको थियो । सन्ध्या र बालकृष्णनको विवाह सन् २००० मा भएको थियो । यो हत्या काण्डमा आज पनि उनको टाउको नभेटिनु सबै भन्दा ठूलो रहस्य बनेको छ । अन्नपूर्णबाट