साँफेबगर ।
अछामको साँफेबगर नगरपालिकामा युवा संजाल, सहजकर्ता , साथी शिक्षक लगायतलाई लक्षित गर्दै विपद् व्यवस्थापन र जलवायु परिवर्तन सम्बन्धी दुई दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ।
कार्यक्रम UNFPA, KOICA र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अछामको आयोजना तथा सेबक नेपाल, साँफेबगर नगरपालिकाको सहकार्यमा सञ्चालन भई रहेको हो।
कार्यक्रमको पहिलो दिन सहभागी युवाहरुलाई “विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनामा युवा संलग्नता: के, किन र कसरी?” विषयमा अन्तरक्रियात्मक छलफल गराईएको छ। छलफलका क्रममा विपद् जोखिम न्यूनीकरण, पूर्व तयारी, प्रतिकार्य योजना निर्माण तथा स्थानीय तहको विपद् व्यवस्थापनमा युवाको प्रभावकारी भूमिका बारे विस्तृत जानकारी दिईएको थियो।
कार्यक्रमको दोस्रो तथा अन्तिम दिन “युवाहरूका लागि विपद् व्यवस्थापन र जलवायु परिवर्तन” विषयमा अभिमुखीकरण तथा प्रशिक्षण सञ्चालन गरिने आयोजकले जनाएको छ। उक्त सत्रमा जलवायु परिवर्तनका असर, विपद् जोखिम न्यूनीकरणका उपाय, समुदायमा आधारित तयारी तथा विपद्का समयमा युवाले निर्वाह गर्नु पर्ने भूमिका बारे प्रशिक्षण प्रदान गरिनेछ।
स्थानीय युवामा विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन सम्बन्धी ज्ञान, सीप र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम भोलिसम्म जारी रहने जनाईएको छ।
अभिमुखिकरण कार्यक्रममा नगेन्द्र अर्याल नेपाल रेड्क्रस सोसाईटी नेपालको बिपद जोखिम न्यूनीकरण संयोजक, गुड नेवर्स इन्टरनेशनल नेपाल प्रदेश संयोजक जगदीश दास, साँफेबगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख लक्षमण नाथ योगी, सेबक नेपाल सेफ गर्ल्स परियोजना संयोजक प्रेम प्रसाद खनाल लगायतको सहभागिता रहेको छ।