मंगलसेन ।
अछाम जिल्लामा महिनावारीसँग सम्बन्धित विभेद तथा कुप्रथाको अन्त्य गर्ने उद्धेश्य ग्रिन तारा नेपालद्धारा सञ्चालित गरिमा–२ परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। बिएमजेड, करुणा जर्मनी, करुणा ट्रष्ट र ग्रामीण विकास तथा वातावरण विकास केन्द्र रिड नेपालको साझेदारीमा सञ्चालित गरिमा–२ परियोजना अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।
मंगलसेन स्थित जिल्ला समन्वय समिति अछामको सभा हलमा आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सामाजिक अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यक्रममा महिनावारीका विषयमा समाजमा विद्यमान विभेद, अन्धविश्वास तथा कुप्रथाका कारण महिला तथा किशोरीहरुले भोग्नु परेका समस्या र त्यसको न्यूनीकरणका उपाय बारे छलफल गरिएको थियो।
परिचयात्मक कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाले मर्यादित महिनावारी सुनिश्चित गर्न समुदायका अगुवा, धामीझाँक्री तथा धार्मिक व्यक्तित्वहरुको साथ र सहयोग आवश्यक रहेको बताउनु भएको छ। उहाँले समाजमा रहेका गलत मान्यताहरु परिवर्तन गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनु भयो।
यस्तै कार्याक्रममा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाले छाउगोठ भत्काउने अभियान पुनः सञ्चालन गरिने बताउनु भयो। प्रजिअ बुढाले गरिमा परियोजनाले महिनावारीसँग सम्बन्धित सामाजिक विभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै छाउपडी प्रथा सम्बन्धी भ्रम चिर्दै समुदाय स्तरबाट अभियानलाई सफल बनाउनु पर्नेमा जोड दिनु भएको थियो।
यस्तै जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले महिनावारी प्राकृतिक जैविक प्रक्रिया भएकाले यसलाई विभेद र बहिष्करणसँग जोड्न नहुने बताउनु भयो। उहाँले महिनावारी सम्बन्धी विभेद अन्त्य गर्न स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था, गैरसरकारी संस्था, परिवार तथा समुदाय सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्नु भयो।
उहाँले महिनावारी विभेद न्यूनीकरणका लागि नीति निर्माण, जनचेतना अभिवृद्धि, विद्यालय तथा समुदाय स्तरमा व्यवहार परिवर्तन र महिला तथा किशोरीमैत्री वातावरण निर्माण आवश्यक रहेको धारणा राख्नु भयो। अभिमुखीकरणका क्रममा प्रस्तुत गरिएको सामग्रीमा पालिका, विद्यालय, स्वास्थ्य संस्था, संघसंस्था तथा परिवार समुदायले आफ्नो–आफ्नो क्षेत्रबाट जिम्मेवारी निर्वाह गरेमा महिनावारीका नाममा हुने विभेद अन्त्य गर्न सकिने उल्लेख गरिएको थियो।
सहभागीहरुले महिनावारीलाई लुकाउने वा अपवित्रताको दृष्टिकोणले हेर्ने पुरानो सोच परिवर्तन गर्न समुदाय स्तरमा निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए। गरिमा–२ परियोजनाले अछामको मेल्लेख गाउँपालिका सहित बझाङ र बाजुरा जिल्लामा पनि लैंगिक समानता, महिला अधिकार तथा महिनावारी मर्यादा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
परिचयात्मक कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख दानमति बम शाही, प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढा, जिल्ला समन्वय समितिका अन्य पदाधिकारीहरु विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
परिचयात्मक कार्यक्रम गरिमा परियोजनाका अनुगमन तथा मुल्याकन अधिकृत प्रमिता वस्याले मेल्लेख गाउँपालिकामा मर्यादित महिनावारी प्रवर्धनका लागि हालसम्म सञ्चालन भएका गतिविधि तथा आगामी योजना बारे जानकारी गराउनु भएको थियो।
परियोजनाका फिल्ड म्यानेजर विक्रम जोशीले परियोजनाको लक्ष्य, उद्धेश्य, कार्य क्षेत्र र अपेक्षित उपलब्धि बारे जानकारी गराउनु भएको थियो।