टंक प्रसाद रिमाल, अछाम ।
"शान्ति हाम्रो अधिकार, अहिंसा हाम्रो पहिचान, सद्भाव हाम्रो जीवनधारा, सहिष्णुता हाम्रो स्वाभिमान" भन्ने मूल नारा बोकेर मानव अधिकार तथा शान्ति समाज अछामद्वारा आयोजित सद्भाव प्रवर्द्धन तथा हिंसा र घृणाको खारेजी सम्बन्धी प्रदर्शन कार्यक्रम शुक्रबार बिहान अछामको सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ।
मंगलसेन बजार क्षेत्रमा निकालिएको र्याली पछि कार्यक्रम कोण सभामा परिणत भएको थियो। कोण सभामा सहभागी वक्ताहरुले देशमा बढ्दै गएको हिंसा, असहिष्णुता र घृणाका प्रवृत्ति प्रति चिन्ता व्यक्त गर्दै शान्ति, अहिंसा र आपसी सद्भावलाई सुदृढ बनाउन सबै पक्षको भूमिका आवश्यक रहेको बताएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मानव अधिकार तथा शान्ति समाज अछाम शाखाका सभापति जय बहादुर बोगटीले देशमा दिगो शान्ति स्थापनाका लागि मानव अधिकार तथा शान्ति समाजले देशै भर सप्ताह व्यापी कार्यक्रम सञ्चालन गरि रहेको जानकारी दिनु भयो।
सोही कार्यक्रम अन्तर्गत यही माघ १४ गते मानव अधिकारकर्मी कृष्ण पहाडीको प्रमुख आतिथ्यतामा जिल्ला स्तरिय बृहत कार्यक्रम अछामको सदरमुकाम मंगलसेनमा आयोजना गरिने उहाँले बताउनु भयो।
उक्त कार्यक्रममा नागरिक समाज, विभिन्न संघ–संस्थाका प्रतिनिधि, मानव अधिकारकर्मी, बिद्यार्थी तथा स्थानीय सर्वसाधारणको सहभागिता रहेको थियो।
