साँफेबगर ।
अछाम । नेकपा एमालेले अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनीधि सभा सदस्यका लागि ९ जनाको नाम सिफारिस गरेको छ । आइतबार साँफेबगरमा सम्पन्न प्रतिनीधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नम्बर १ अछामको तेस्रो बैठकले उम्मेदवार सिफारिस गरेको हो ।
सिफारिस सूचीको पहिलो नम्बरमा कमलराज तिमिल्सेना रहनु भएको छ, भने एमालेका केन्द्रीय सदस्य झपट बोहरा दोस्रो नम्बरमा सिफारिस हुनु भएको छ । यस्तै केशर साउँद नवौँ नम्बरमा सिफारिस भएको छ । एमालेले सिफारिस गरेका अन्य नेताहरुमा मनसरा साउँद, कृष्ण प्रसाद जैशी, तिलक कुँवर, जनक रावल, मोति बिक र पूर्ण साउँद रहनु भएको छ ।
केन्द्रीय सदस्य झपट बोहरा यस अघिको प्रतिनीधि सभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेर बहादुर कुँवरसँग पराजित हुनु भएको थियो । पराजय पछि पनि संगठन विस्तार र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनु भएका बोहरालाई यस पटक पुनः उम्मेदवारका रुपमा अघि सारिएको छ ।
यस्तै सिफारिस सूचीमा रहनु भएका पूर्ण साउँद सशस्त्र प्रहरी बलका रिटायर्ड एसपी हुनु हुन्छ । उहाँ नेपाल ल क्याम्पसका पूर्व स्ववियु सदस्य समेत हुनु हुन्छ भने अछाम–काठमाडौं सम्पर्क मञ्च, काठमाडौंका संस्थापक सचिवका रुपमा समेत काम गरि सक्नु भएको छ । अब उम्मेदवारको अन्तिम टुंगो पार्टीको केन्द्रीय कमिटी तथा निर्वाचन सम्बन्धी संयन्त्रले लगाउनेछ ।
अछाम–१ मा यस पटकको निर्वाचनलाई निकै प्रतिस्पर्धात्मक रुपमा हेरिएको छ । नेपाली कम्युनिष्ट पार्टीले पनि अछाम १ बाट भीम रावल लगायतका उम्मेदवारलाई सिफारिस गरि सकेको छ ।