साँफेबगर ।
अछामको मेल्लेख गाउँपालिकाले मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन गरेको छ। गाउँपालिकाले महिनावारी भएका महिलालाई घरमै सुरक्षित राख्ने उद्धेश्यले मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन गरेको हो। मर्यादित महिनावारी सचेतना अभियान अन्तर्गत धामी झाँक्री, महिनावारी विभेदमा अग्रसर स्थानीय बृद्धबृद्धा लगायत विद्यार्थीका लागि सचेतना कक्षा सञ्चालन भई रहेका छन्। गाउँपालिकाको वडा नम्बर ४ कुष्कोटका धामी, झाँक्री, पुरोहित, जनप्रतिनिधी, महिला स्वास्थ्य स्वयम सेविका र बासुकी माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सचेतना कक्षा संचालन गरिएको छ।
फरक-फरक समयमा उनीहरुलाई महिनावारी हुने प्रक्रिया, महिनावारी विभेदले निम्त्याउने समस्या, अछामको अवस्था, कानुनी प्रावधान लगायतका विषयमा सहजीकरण गरिदै आएको छ। बासुकी माविका छात्राहरुले महिनावारी विभेद सहेर नबस्ने तथा यस बारेमा सबैलाई सचेतना समेत फैलाउने प्रतिवद्धता जनाएका छन्। सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल शाहले महिनावारी हुँदा घरमै बस्न तथा कसैले विभेद गरे त्यसको प्रतिकार गर्न विद्यार्थीलाई सुझाव दिनु भएको छ।
यस्तै वडा कार्यालयमा आयोजित मर्यादित महिनावारी सचेतना कक्षाका सहभागिले आफ्नो घरमा महिनावारी हुने महिला घरमै सुरक्षित बस्ने गरेको बताएका छन्। सो अवसरमा करिब तीन दशक अघि देखि महिनावारी हुँदा सुरक्षित रुपमा घरमै बस्ने पूर्व महिला स्वास्थ्य स्वयम सेविका सरु देवी साउँदलाई खादा लगाएर सम्मान गरिएको थियो। यस्तै वडा सदस्यहरु मन्सरा देवी साउँद, शालिभान साउँद र शंकर साउँदले आफूहरुको घरमा महिनावारी हुँदा महिला सुरक्षित रुपमा घरमै बस्ने गरेको र अहिलेसम्म कुनै दोष नलागेको बताउनु भएको थियो। साही ठाउँका पुजारी रन बहादुर साउँदले देवि देउताले पनि महिनावारी भएको महिलालाई विभेद गर्न नलगाउने प्रतिवद्धता जनाउनु भएको थियो।
महिनावारी भएको महिलाले दहीदुध खान नहुने, गाईभैंसी छुन नहुने जस्ता कुरा अन्धविश्वास मात्रै भएकाले त्यस्ता कुरीतिको पछाडि नलाग्न उनीहरुलाई सुझाईएको थियो। लामो समय देखि महिनावारीका बारेमा रहेका भ्रम बारे जानकारी गराए पछि अहिले धामी पुजारीहरु नै विभेद विरुद्धको अभियानमा जुटेका हुन्।
मेल्लेख ४ कुष्कोटका वडा अध्यक्ष चन्द्र बहादुर साउँदले महिनावारी विभेद गर्नेलाई सरकारले कडा कानुनी कारवाही गर्ने नीति लिएकाले कसैले पनि विभेद नगर्न सुझाव दिनु भएको छ। उहाँले महिनावारी हुँदा गोठमा बस्ने र बसाल्नेलाई सरकारले प्रदान गर्ने सबै सुविधाहरु बन्द गर्ने समेत बताउनु भयो।
गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउँदले गाउँपालिकाले मर्यादित महिनावारी सचेताना कार्यक्रम सञ्चालन गर्नका लागि तीन लाख रुपियाँ बजेट विनियोजन गरेको जानकारी दिनु भयो। साउँदले भन्नुभयो-“हामीले गोठ भत्काउने अभियानसँगसँगै गाउँपालिकाका सबै वडाका सरोकारवालाहरुसँग मर्यादित महिनावारी सचेतना कार्यक्रम पनि सञ्चालन गरि रहेका छौँ।”
अध्यक्ष साउँदका अनुसार महिनावारी विभेद गर्नेलाई सरकारले कडा कानुनी कारवाही गर्ने नीति लिएकाले जो कसैले पनि विभेद गर्न नहुने बताउनु भयो। उहाँले महिनावारी हुँदा गोठमा बस्ने र बसाउनेलाई सरकारले प्रदान गर्ने सबै सुविधाहरु बन्द गर्न सक्ने समेत बताउनु भयो।