शुक्रबार बिहानको कुरा हो । म अछामको सदरमुकाम मंगलसेन पुगें । केही प्रशासनिक काम थियो । थाहा पाएको थिएँ, कार्यालय १० बजे खुल्छ । मनमनै सोचेँ–बिहानको खाजा खाएरै आउने हो, ढिलो लाग्ला । तर ८ः३० बज्दा नबज्दै म अछाम जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेँ ।
अनौठो लाग्यो–गेट खुलेको छ, सेवाग्राहीको बाक्लो उपस्थिति, कर्मचारीहरू व्यस्त । म पनि आफ्नो काम लिएर सेवा डेस्कमा पुगें । आश्चर्य त तब लाग्यो जब ९ बज्दै नबज्दै मेरो काम सकियो ! कुन सरकारी कार्यालयमा यस्तो सम्भव होला र ?
कसैको नेतृत्वमा, कसैको सोचमा, र कसैको इच्छा शक्तिमा यस्तो सम्भव बनेको थियो । त्यसपछि म सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार नजिकै पुगेँ । म मुस्कुराएँ, सोधें “सर, कार्यालय त १० बजे खुल्छ नि ! यहाँ त ८ बजेदेखि नै सेवा सुरू भइसकेछ, यसका लागि खास व्यवस्था के हो ? “उहाँले हल्का मुस्कुराउँदै भन्नुभयो, “बिशेष त केही हैन, सबै इच्छाशक्ति हो । सरकारले त १० बजेको समय दिएको छ, तर हामीले सेवा लिने नागरिकलाई सहज बनाउन अघि बढ्यौं । हाम्रो कामको समय नागरिकको समयसँग मेल खानुपर्छ ।”
त्यो जवाफले मेरो हृदय छोयो । एक प्रशासकको बोलीमा मात्र होइन, व्यवहारमा पनि नागरिक–मैत्रीपनाको सुगन्ध थियो । सायद यिनै पात्रहरू हुन, जसले जनताले सरकारसँग आशा गर्न मिल्छ भन्ने विश्वास कायम राखेका छन् ।

अछाम जस्तो दुर्गम जिल्ला टाढाबाट बिहान–बिहानै हिँडेर आउने सेवाग्राहीहरू घाम चर्किँदा घर फर्किनुपर्ने हतारो । र, यस्तो परिवेशमा एउटा यस्तो कार्यालय जसले ’समय’ लाई होइन, ’जनता’ लाई प्राथमिकता दिएको छ । यो साँच्चै नमुना हो । सरकारी कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि सेवाग्राही दिन प्रतिदिन बढेसंगै कार्यालयले जोड विजोडका माध्यमबाट सेवा प्रवाह गरिरहेको छ ।
जोड दिनमा क्षेत्र नं. १ का ५ वटा पालिका र विजोड दिनमा क्षेत्र नं. २ का ५ वटा पालिकालाई बिहान ८ बजे देखि साँझको ६ बजेसम्म सेवा प्रवाह भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियाले बताउनु भयो । कार्यालयबाट अतिरित्त समयमा भइरहेको सेवा प्रवाहका बारेमा विभागीय गृह मन्त्रालयमा अनुमति माग गरिएको भए पनि मन्त्रालयबाट अहिलेसम्म अनुमति प्राप्त भएको छैन तर सेवाग्राहीको बढ्दो चापलाई मध्येनजर गर्दै उपलब्ध जनशक्ति परिचालन गरि सेवा प्रवाह भइरहेको अधिकारी परियारले बताउनु भयो ।
