साँफेबगर ।
सुदूरपश्चिमको भावी मुख्य मन्त्रीका रूपमा नेपाली कांग्रेसका सुदुरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काको चर्चा सुरु भएको छ। अछाम क्षेत्र नम्बर १ को प्रदेश क बाट विजयी भएका खड्कालाई यसअघि नै मुख्य मन्त्रीको बलियो दावेदारका रुपमा हेरिएको थियो। करिब ४ दशक देखि नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहेका खड्काले एमालेका उम्मेदवार देब बहादुर कुवँरलाई झण्डै दोब्बर ५ हजार ८ सय ४० को मतान्तरले पराजित गरेका छन्।
खड्काले १२ हजार ३ सय ३७ प्राप्त गरेका थिए भने एमालेका देब बहादुर कुँवरले ६ हजार ४ सय ९७ मत पाएका थिए। ता कार्यकर्ता माझमा लोकप्रिय खड्का प्रधानमन्त्री शेर बहादुर देउवाका समेत बिश्वास पात्रका रुपमा लिईन्छ। देउवाका स्वकिय सचिव भएर समेत काम गरेका खड्का यस पटक सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित सदस्यहरु मध्येमा सिनियर नेता समेत हुन्। नेपाली कांग्रेस अछामको पार्टी सभापति भई सकेका खड्का हाल कांग्रेस सुदूरपश्चिमको प्रदेश महामन्त्री हुन्। सुदूरपश्चिमको विकास, समृद्धि र रोजगारीका अवसर सृजना गर्न खड्का मुख्य मन्त्री हुनु पर्ने माग नेता कार्यकर्तामा उठ्दै आएको छ।
सबैको साझा भावनाको प्रतिनिधित्व गर्ने र सबै दललाई मिलाएर लैजान सक्ने क्षमता भएका खड्कालाई मुख्य मन्त्रीका रूपमा हेरिएको छ। तर यस विषयमा प्रधानमन्त्रीले अहिलेसम्म आफ्नो धारणा भने सार्वजनिक गरि सकेका छैनन्। प्रदेश सरकारलाई संघीय सरकारसंग जोड्न सक्ने कडिका रूपमा खड्कालाई हेरिएको छ। प्रदेश सभामा प्रत्यक्ष तर्फ ११ सिट जितेर नेपाली कांग्रेस सुदूर पश्चिम ठुलो दल बनेको छ। प्रत्यक्ष तर्फ थप एक सिट जित्ने आंकलन गरिएको छ भने समानुपातिक तर्फ ८ वटा सिट ल्याउने अनुमान गरिएको छ। सुदूरपश्चिममा सरकार निर्माणका लागि २७ प्रदेश सभा सदस्य आवश्यक पर्छन्। सुदूरपश्चिम प्रदेश सभामा गठबन्धनको बहुमत भएको र नेपाली कांग्रेस सबै भन्दा ठुलो दल भएकोले काग्रेसको नेतृत्वमा सुदूर पश्चिम प्रदेश सरकार गठन हुनु पर्ने नेपाली कांग्रेसका नेताहरूको जिकिर छ। अछाम क्षेत्र नम्बर १ मा तत्कालिन समयमा एक मात्र माध्यामिक विद्यालय थियो महेन्द्र माध्यामिक विद्यालय बयालपाटा। खड्काले महेन्द्र माध्यामिक विद्यालयबाट २०३५ सालमा कक्षा ८ को पढाई सुरु गरे। त्यसको एक वर्ष पछि २०३६ सालमा जनमत संग्रहको घोषणा भएसंगै खड्काले पढाईसंगै राजनीति पनि सुरु गरे। बहुदल र निर्दलका पक्षमा जनमत संग्रह हुँदा उनी बहुदलको पक्षमा हुने विभिन्न कार्यक्रममा सहभागी भए। २०४० सालमा उच्च शिक्षा हासिल गर्न कैलाली बहुमुखी क्याम्पसमा भर्ना भएका खड्का त्यसको डेढ महिनामै कांग्रेसका कार्यक्रममा सहभागी हुँदा प्रहरीको हिरासतमा थुनिए। त्यही बेला देखि उनको सक्रिए राजनीति यात्रा सुरु भयो। खड्काले कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट २०४१ सालमा कैलाली बहुमुखी क्याम्पसको स्ववियु उपसभापति र २०४२ सालमा सभापति भएर काम गरे। २०४२ सालको सत्याग्रहमा साढे चार महिना जेल परेका खड्का पटक–पटक प्रहरी हिरासतमा थुनिए। विद्यार्थीको सक्रिए राजनीतिसंगै अछाम फर्केका खड्का २०४६ सालको जनआन्दोलनमा अछाममा चरम यातना सहित प्रहरी हिरासतमा थुनिए। पार्टीको संगठन निर्माण देखि विभिन्न आन्दोलनमा सहभागी हुँदै निरन्तर राजनीतिमा सक्रिए खड्का २०४८ सालमा नेपाली कांग्रेस अछामको जिल्ला कार्य समिति सदस्य भए। २०५३ मा भएको पार्टीको ९ औं र १० औं महाधिवेशनबाट महाधिवेश प्रतिनिधि हुँदै महासमिति सदस्य भएका उनले ११ औं महाधिवेशनमा २०६२ देखि २०६७ सम्म कांग्रेस अछामको सभापति बनेर पार्टी हाँके। त्यस यता भएका १२ औं र १३ औं महाधिवेशनमा उनी लगातार महासमिति सदस्य बनेका खड्का १४ औं महाधिवेशनबाट महासमिती सदस्य हुँदै कांग्रेस सुदूरपश्चिम प्रदेशको महामन्त्री चुनिए। यो बीचमा नेता खड्का २०५४ सालमा जिल्ला विकास समिती अछामको सदस्यमा समेत निर्वाचित भए। २०५४ देखि २०५९ सम्म उनले तत्कालिन जिविसको सदस्य भएर काम गरे। त्यो बेला आफ्नो क्षेत्रमा विकास निर्माणका महत्वपूर्ण काम गरेर खड्का जनता माझ लोकप्रिय छन्।